पोखरा महानगरभित्र शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बन्यो

महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पुसदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा संचालनमा छ

जनसम्मत
फागुन १९, २०८१, सोमबार

पोखरा महानगरपालिकामा संचालित इसीडीदेखी कक्षा ३ सम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ।

इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा संचालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो।

परियोजनाअन्तरगत इसीइसीले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बालविकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायतालगायतका कार्यक्रमहरू संचालन गर्ने गरेको छ।

महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयहरूमा २०७९ पुसदेखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा संचालनमा रहेको छ।

सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रमहरू संचालन गर्दै आइरहेको इसीइसीका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले बताए।

कार्यक्रममा इसीइसीका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।