पत्रकारिताका गुरु प्राध्यापक पी खरेलको नयाँ कृति लोकार्पण गरिएको छ।
लेखक खरेलले नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लेखेका हुन्।
त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले काठमाडौंमा आज (सोमवार) एक समारोहबीच पुस्तकको लोकार्पण गरेका हुन्।
लेखक तथा प्रध्यापक खरेलले लोकार्पण कार्यक्रममा बोल्दै पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको उल्लेख गरे।
पुस्तकमा ८० प्रतिशत सामग्रीहरु विश्व दृष्टिकोणबाट लेखेको प्राध्यापक खरेलको भनाई छ।
प्राध्यापक खरेलले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डीकरणको प्रवेश भएको औंल्याएका छन्।
उनले नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गरेका छन्।
यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको उनको भनाई छ।
उनले भने, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो। तर, राजनीतिकरण, खण्डीकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो। र, मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्री विश्वको दृष्टिकोणबाट मैले तयार पारेको छु। मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु। नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ। धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ। यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो।’
पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समेत पत्रकारिताको स्तर खस्किदै गएको कृतिकार खरेलले बताए।