पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले आफ्नो रजत जयन्त मनाउँदैछ।
संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा यही फागुन २२ गतेदेखि ३ दिनसम्म रजत जयन्ती मनाउने भएको हो।
समाजले मंगलबार पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी गराएको हो।
फागुन २२ गते पहिलो दिन आफ्नै कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सब–इनिस्पेक्टर कमल गुरुङले बताए।
त्यसैगरी, फागुन २३ गते सीतापाइलास्थित वृद्धाश्रमका वृद्धवृद्धलााई भोजनदान गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, जयन्तीको अन्तिम दिन फागुन २४ मा गण्डकी प्रदेशका आर्थिक ममिलामन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनेछ।
उक्त दिन समाजको रजत स्मारिका २०८१ को विमोचन गरिनेछ।
साथै समाजमा विशेष योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरिने छ।
लामो समय शिक्षण पेशामा आवद्ध शिक्षक, विद्यालय व्यवस्थापन समिति, पञ्चकोशी समाज युके, हङकङलगायत समाजलाई सहयोग पुराउँदै आएका संघसंस्थालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले बताए।
संस्थाको रजत जयन्तीको अवसरमा सांस्कृतिक कार्यक्रम पनि हुने समाजले जनाएको छ।
समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १४ मा पर्ने आर्थर डाँडाखर्कबाट पोखरामा आई बसोबास गर्नेहरुको संस्था हो।
पर्वत, स्याङ्जा र कास्कीको संगमस्थल, पञ्चासेको काखमा अवस्थित आर्थर, डाँडाखर्क गाउँ बाक्लो गुरुङ बस्तीको रुपमा चिनिन्छ।
आफ्नो भाषा, धर्म संस्कार संस्कृतिको संरक्षण एवं जन्मभूमिको विकास गर्ने उद्देश्यले २०५७ मंसिर २ गते स्व. मेयर हर्कबहादुर गुरुङको परिकल्पनामा समाज स्थापना भएको थियो।