संघीय संसदका सभामुख देवराज घिमिरेले पत्रकारहरुले सहि कुरालाई जनताको बीचमा लैजानुपर्नेमा जोड दिएका छन्।
प्रेस क्लब, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले भने, `चौथो अंग मानिएको पत्रकारिताले सहि कुरा जनताको बीचमा लैजानुपर्छ। समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको अगाडी लैजानुपर्छ। पत्रकारिता क्षेत्रको विकास, काम गर्ने वातावरण हौसला र प्रेरणा दिन के गर्नुपर्छ राज्यका तिनै तहका सरकार र न्यायपालिका र व्यवस्थापिकाको काम के हुन्छ यस्ता कार्यक्रमले भुमिका खेल्छ।’
सभामुख घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुन्ठीत हुनेगरी संघीय संसदले कुनै कानुन नबनाउने स्पष्ट पारे।
उनले हामी सबैले लडेर ल्याएको लोकतन्त्रलाई कसैले बदल्न नसक्ने उनको भनाई थियो।
`लोकतन्त्रविरोधी कानुन कसैले कसैले बदल्न सम्भव छैन। कानुनको अभावमा धेरै बेथिति बढेका छन्। बेथितिलाई नियन्त्रण गर्नका लागि कानुन बनाउने हो। जनताको मौलिक अधिकार खोस्नेगरी कानुन बनाउन सम्भव छैन’, उनले उल्लेख गरे।
सामाजिक सञ्जालमा सही भन्दा पनि गलत कुराहरू बढी प्रचार भइरहेको उनको भनाई छ।
गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको उनले जोड दिए।
उनले स्पष्ट पारे, `सामाजिक सञ्जलमा देखिएको विकृति, विसंगतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक देखिएको छ। त्यसमा देखिएको विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदैन।’
अहिलेको संसद पारदर्शी भएकाले सम्बन्धित सरोकार राख्नेहरूसँग पनि व्यापक रूपमा छलफल गरेर मात्र कानुन निर्माण गर्ने कुरामा संसद प्रतिबद्ध रहेको उनले बताए।
`पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेण गर्ने मात्र नभएर हामीले प्राप्त गरेको उपलब्धीको रक्षा गर्ने जिम्मेवारी पनि हो। लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउनेगरी कानुन नबन्ने ठोकुवा गर्दछु’, सभामुख घिमिरेको भनाई छ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गौरब त्रिपाठी र कोषााध्यष राजु गिरीले बोल्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने औंल्याए।
उनले भने, `स्वतन्त्रताको नाममा छाडातन्त्र चलिरहेको छ। सामाजिक सञ्जालमा देखिएको बेथितिलाई नियन्त्रण गर्नुपर्दछ।’
उनले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रविरोधी गतिविधिमा सक्रिय भएको आरोप लगाए।
कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दामोदार पौडेल `वैरागी’ले सार्वजिक सञ्जाल प्रयोग, तथा नियगमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको जिकिर गरे।