४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा हिँजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो।
पानी पर्न रोकिएपछि नामिबियाले डीएलएसका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो।
यो लक्ष्य नामिबियाले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो।
नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्।
नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान १/१ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो।
नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन्।
यस्तै, ईश्वरी विष्टले नटआउट १७ रन जोडिन्।
कविता जोशीले १६ थपिन्।
पूजा महतोले १३ रन बनाइन्।
नामिबियाकी विल्का मतिले र मेकेलाए माटिलेले समान ३/३ विकेट लिए।
यो श्रृंखलाको अर्को खेलमा घरेलु टोली युगान्डाले हङकङलाई ८ विकेटले हरायो।
४ देश सम्मिलित यो अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलालाई वुमन्स डे कप टी–२० क्रिकेटका रुपमा आयोजना गरिएको हो।
श्रृंखलामा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ छन्।
श्रृंखलामा सबै टोलीले एकअर्कासँग समान २/२ खेल खेल्नेछन्।
जसमा नेपालले भोलि (आइतबार) युगान्डासँग खेल्नेछ।
त्यसैगरी पर्सि (सोमबार) हङकङसँग खेल्ने छ।
यसैगरी फागुन २८ गते नामिबियासँगको दोस्रो खेल खेल्नेछ।
यस्तै, फागुन २९ गते युगान्डासँगको दोस्रो खेल खेल्नेछ।
फागुन ३० गते हङकङसँगको तेस्रो खेल खेल्ने तालिका छ।
लिग चरणको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
फाइनल खेल चैत ३ गते हुनेछ।