विभागीय एपीएफले जित्यो अन्तराष्ट्रिय महिला गोल्डकपको उपाधि

विभागीय डर्बीमा आर्मीलाई २–१ ले हराउँदै एपीएफ च्याम्पियन बनेको हो

जनसम्मत
फागुन २४, २०८१, शनिबार

विभागीय एपीएफ क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि  जितेको छ।

इलाममा आज भएको भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि कब्जा गरेको हो।

एपीएफका लागि गीता रानामगर र सविता रानामगरले गोल गरे।

यता, आर्मीका लागि बिमला बि.के. ले गोल गरिन्।

सुरुवातबाट नै आर्मीविरुद्ध हाबी भएको एपीएफले खेलको २५ औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लियो।

एपीएफकी सविता रानालाई आर्मीको डी एरियामा आर्मीले फउल गरेपछि पाएको पेनाल्टीलाई गीता रानामगरले सदुपयोग गर्दै गोल गरिन्।

आर्मीले पनि पहिलो हाफमा थुप्रै अवसरहरू सदुपयोग गर्न सकेन।

एपीएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो।

दोस्रो हाफमा एपीएफकी सविता रानामगरले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।

आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई कम गर्‍यो।

आर्मीको लागि फरवार्ड बिमला चौधरीले गोल गरिन्।

अन्तिम समयसम्म आर्मीले खेलमा फर्किन कोसिस गरे पनि सकेन।

उपाधिसँगै एपीएफले नगद ४ लाख पुरस्कार हात पार्‍यो।

उपविजेता बनेको आर्मीले नगद २ लाख पुरस्कार प्राप्त गर्‍यो।

एपीएफकी सविता रानामगर फाइनल खेलको `प्लेयर अफ दी म्याच’ बनिन्।

`प्लेयर अफ दी म्याच’ बनेकी सविताले नगद ५ हजार पुरस्कार जितिन्।

एपीएफकी अनिता बस्नेत प्रतियोगिताको सर्वोत्कृक्ष् खेलाडी बनिन्।

अनिताले १५ हजार नगद पुरस्कार जितिन्।

एपीएफकी रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनिन्।

रश्मीले ट्रफीसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन्।

आर्मीकी अञ्जना रानामगर उत्कृष्ट गोलरक्षक घोषित भइन्।

अञ्जनाले १० हजार र ट्रफी प्राप्त गरिन्।

आर्मीकै बिमला बिक उत्कृष्ट स्ट्राइकर बनिन्।

एपीएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर बनिन्।

रेनुकाले उत्कृष्ट मिडफिल्डरको ट्रफीसहित नगद १० हजार पुरस्कार जितिन्।

एपीएफकी गीता रानामगर उत्कृष्ट डिफेन्डर बनिन्।

गीताले उत्कृष्ट डिफेन्डरको ट्रफीसहित नगद १० हजार पुरस्कार जितिन्।

ओएसिस क्लब, इलामको आयोजनामा गत फागुन १७ गतेबाट सुरु अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा ८ टिमको प्रतिस्पर्धा थियो।