पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ।
महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड (एनजेएस), कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो।
पोखरा महानगरपालिकाका ४ वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ।
महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन्।
यी केन्द्रहरूमार्फत प्रतिदिन १ लाख ३४ हजार घन लिटर पानी प्रशोधन हुनेछ।
गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुनेछ।
दुर्गम भूभागहरूमा पानी संकलनका लागि विभिन्न स्थानहरूमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए।
प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र संचालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रमुख आचार्यले भने, `अव हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनैपनि चिजलाई यत्तिकै छोड्न मिल्दैन। यसले वातावरण प्रदूषण भइरहेको छ भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो। जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन्। अव, यो योजनाअनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ।’
दिगो विकासको लक्ष्यअनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्वपूर्ण रहेको नगर प्रमुख आचार्यले बताए।