पर्वतका पत्रकार संजय रेग्मीलाई मिलन पत्रकारिता पुरस्कार

पुरस्कार राशि २० हजार १११ रुपैयाँ छ

जनसम्मत
फागुन २८, २०८१, बुधबार

पर्वतका कृयाशील पत्रकार संजय रेग्मीलाई `मिलन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले पत्रकार रेग्मीलाई सो पुरस्कार प्रदान गरेको हो।

समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरेको हो।

पोखरा र पर्वतमा रहेर करीब डेढ दशकदेखि पत्रकारितामा सकृय रहेका रेग्मीले आदिबासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कलालगायतका विषयवस्तुमा समाचारहरु लेख्ने गरेका छन्।

सोही मूल्यांकनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उनलाई  जनजातिको मौलिक पहिचानका रुपमा रहेको फेटा र भांग्रा ओढाएर सम्मान–पत्रसहित २० हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार लागि व्यक्तिको छनोट समितिका संयोजक तथा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी.आस्थामगरको संयोजकत्वमा बनेको छनोट समितिले रेग्मीलाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो।

आस्थामगरले कार्यक्रममा बोल्दै फोनिज गण्डकी प्रदेशबाट संचालन हुनेगरी गण्डकी प्रदेशस्तरमा पत्रकारिताको क्षेत्रबाट आदिवासी जनजातिको आवाज मुखरित गर्ने एक जना कृयाशील युवा पत्रकारलाई सम्मान गर्ने विधानअनुसार रेग्मीलाई छनोट गरिएको बताए।