खिमाकुमारी गुरुङ, फोनिज गण्डकीको अध्यक्ष

गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिको गठन

जनसम्मत
फागुन २८, २०८१, बुधबार

कास्कीको संचार क्षेत्रमा कृयाशील खिमाकुमारी गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छन्।

पोखरामा बुधबार भएको फोनिज गण्डकीको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

समितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) मा शिला गुरुङ (नवलपुर), महासचिवमा सुरज थापा (कास्की), सचिव (खुला) मा दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) मा कला राना (स्याङ्जा) र कोषाध्यक्षमा सुमन थापामगर (कास्की) सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की), यमबहादुर सोमैमगर (नवलपुर), खड्गबहादुर आले (तनहुँ), मनप्रसाद गुरुङ (कास्की), कविता घर्तीमगर (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) सर्वसम्मत निर्वाचित भएका छन्।

संघीय प्रतिनिधिमा रुद्र श्रीसमगर, रत्ना गुरुङ र सुशान्त गाहामगरलाई चयन गरिएको निर्वाचन समितिका संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिएका छन्।

प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीत सदस्यका लागि सिफारिस गर्ने भएको छ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले अधिवेशन तथा सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा मन्त्री गुरुङले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया द्रूतगतिमा अघि बढेको बताए।

आदिवासी जनजातिको हितका निमित्त आदिवासी जनजातिकै पत्रकारहरुले कलम र क्यामेरा चलाउनुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासचिव समिर बलामी, संघीय सल्लाहकार हुमबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले पत्रकारिताको माध्यमबाट देशको सबै क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए।

पत्रकारले राम्रो कामको प्रचार–प्रसार र नकारात्मक कार्यमा खबरदारी गर्नुपर्ने उनीहरुको भनाई थियो।

नवनिर्वाचित अध्यक्ष गुरुङले फोनिज गण्डकी प्रदेशलाई अग्रजको सल्लाहसँगै अनुजको साथ र सहयोगका आधारमा रचनात्मक ढंगबाट कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाइन्।