यसै सिजनको गत मे २२ तारिख (जेठ ८ गते बुधबार) का दिन एचआइभी संक्रमित पोखरेली गोपाल श्रेष्ठले एभरेष्ट आरोहण गरेर विश्वसामु नयाँ सन्देश दिए ।
सगरमाथा शिखर आरोहणबाट गोपालको पहिलो सन्देश थियो, ‘एचआइभी संक्रमितहरु पनि शारिरीक, मानिशक रुपले समाज, राष्ट्र र विश्वका लागि केही गर्न सक्छन् ।’
‘आफूलाई आत्मलाञ्छना लगाएर र हिनतावोध बोकेर स्वयं एचआइभी लागेकाहरु जो छन्, प्रेरणाका साथ उनीहरुलाई बाहिर ल्याउनु हो,’ आरोहणको दोस्रो सन्देश थियो ।
विश्वकै अग्लो चुचुरो सगरमाथाबाट ति सन्देशहरुलाई विश्वसामु तरङ्गित गराउनु गोपालका आँखाले देखेको पहिलेदेखिकै सपनाहरु थिए । सन् २००९ मा उनले सगरमाथा चढ्ने सपना देखेका थिए । जुन सपनालाई सफलताका साथ सगरमाथा आरोहण गरेर गोपालले हालैमात्र पूरा गरे ।
मुख्य गाइड फूर्वा तेञ्जिङ शेर्पा र दाकिपा शेर्पाको साथमा गोपालले गत मे महिना २२ तारिखको विहान ८.१५ मा सगरमाथाको शिखरमा पुगेका थिए । स्टेप अफ क्याम्पियन सेकेण्ड फेजको कार्यक्रमअन्तरगत उनले सगरमाथा आरोहण गरेका हुन् ।
आरोहणका लागि अप्रिलको १२ तारिखमा उनी काठमाण्डौंबाट सगरमाथा आरोहणका लागि निस्किएका थिए । सल्लेरी, फाप्लु, खरीखोला, लुक्ला हुँदै उनी सगरमाथाको आधार शिविर पुगेका थिए ।
आधार शिविरबाट क्याम्प थ्री टच गरे । आधार शिविरमै पनि उनले हिमाल आरोहणका धेरै परीक्षाहरु दिए । क्याम्प थ्रीबाट क्याम्प टु फर्कने क्रममा एउटा दुर्घटना भयो । त्यसमा उनी घाइते समेत बने । उनको घुँडाको लिगामेन्ट च्यातियो । उनलाई अति नै गा¥हो भएको थियो । तैपनि, गोपालले हिम्मत हारेनन् ।
‘यो अभियान गर्नैपर्छ,’ त्यतिबेला उनलाई लागेको थियो, ‘अभियानले ठूलो महत्व बोकेको छ । अभियान, ठूलो परिवर्तनको संघारमा उभिएको छ । मेरोपछि मेरो सहयोगी, परिवार, ईष्टमित्रहरु र साथीभाई लागेका छन् । मलाई यस्तो प्रेरणाहरु मिलिरहेको थियो ।’
मे को १९ तारिखमा आधार शिविरबाट विहान २ बजे निस्किए । पहिलो क्याम्प टु, दोस्रो दिन क्याम्प थ्री, तेस्रो दिन क्याम्प फोरमा साँढे ४ घण्टा विश्राम लिएर रातिको ८ बजे सगरमाथा शिखर चुम्न निस्किए । त्यहाँ धेरै चुनौतिहरु थिए ।
उनी भन्छन्, ‘जन्मिएपछि मान्छेहरुको आ–आफ्नै सपनाहरु हुन्छन् । समयसँगै सपनाहरु पनि स्लाइड्ली परिवर्तन हुँदा रहेछन् । एभरेष्ट चढ्नु मेरो एउटा ठूलो सपना थियो । यसलाई मैले पूरा गर्न सकें । सहयोगी हात र साथहरु थुप्रै थिए । जसले, अभियानलाई पूर्णता दिन सक्यौं ।’
लागु पदार्थको सुई साटासाटबाट गोपाल एचआइभी संक्रमित बनेका हुन् । लामो समयसम्म लागु पदार्थ दुब्र्यशनी बनेर उनी पछि सुध्रिएका हुन् । लागु पदार्थका दुव्र्यशनी बनेकै कारण आफू र घर परिवार सबै वर्वाद भएको उनले एक दिन पत्तो पाए । लागु पदार्थले विकराल समस्या ल्याउँछ भन्ने चेतबाट जुन दिन गोपालको आँखा खुलेको थियो, त्यो दिन उसको समाजले गोपाललाई विभेद र लाञ्छना लगाउने क्रम जारी थियो ।
त्यही दोष मेटाउन समाजका लागि कुनै न कुनै उदाहरणीय नयाँ काम गर्नुपर्छ भन्ने सोंच उनमा पलायो । शुरुमा उनले लागु पदार्थबारे सचेतना अभियानमा स्वयंसेवी बने । लागु पदार्थबारे बुझ्दै नबुझेकाहरुलाई बुझाउँदै लगे ।
‘लागुपदार्थका कारणले म आफू एचआइभी संक्रमित बनेको पूर्ण चेत ममा आइसकेको थियो,’ उनले भने, ‘नबुझ्नाका कारणले नै म एचआइभी संक्रमित बनेको थिएँ । एचआइभी र लागु पदार्थबारे जति सक्छु समुदायमा गएर बुझाउँछु । बुझाउन सक्छु भन्ने ममा आत्मविश्वास थियो । बुझाएरै समाजलाई बचाउ गर्ने मेरो सपना थियो ।’
जीवनमा उनको निजी सपनाहरु अरु पनि थिए । जुन सपनाहरुलाई पूरा गर्न नसकेको स्वयं उनी श्वीकार्छन् । वाल्यकालदेखि नै उनी नाचगान र खेलकुदमा रुची राख्थे । शुरुमा उनलाई कलाकार बन्ने भुत चढेको थियो । सानै उमेरमा पनि आफू नाच्ने, गाउने कार्यक्रमहरुमा सहभागी हुने गरेको गोपाल सम्झन्छन् । समयक्रमसँगै उनको सोंचमा पनि परिवर्तन आयो । किशोरावस्थामा पुगेपछि गोपालको ध्यान एक्कासी फुटबलले तान्यो ।
त्यतिबेला, कृष्ण थापा, आनन्द रञ्जित र खेमबहादुर गुरुङलगायत अन्य पोखराका अब्बल दर्जाका फुटबल खेलाडीहरुको नामहरु उनलाई हेक्का छ । फुटबलमा उनीहरुको नाम आउँदा गोपालले आफू पनि एक दिन उनीहरुजस्तै अब्बल दर्जाका फुटबल खेलाडी बन्ने सपना देख्न थाले । फुटबलमार्फत यताउता जान र मान्छेहरुलाई भेटघाट गर्न पाउँदा उनी फुटबलमै रमाउन पुगे ।
ते¥ह वर्षको हुँदा गोपालले माध्यामिक तहको विद्यालयस्तरिय फुटबल खेलमा डेब्यु गरे । उनी १५ वर्षको हँुदा अञ्चलस्तरीय प्रतियोगितामा गण्डकी अञ्चलको टिमबाट खेले । अञ्चलकै टिमबाट खेल्न पाउँदा उनलाई फुटबलमा अघि बढ्ने थप प्रेरणा मिल्यो ।
उनले आफ्नो फुटबलको पर्फमेन्सलाई क्रमश विकसित गर्दै लगे । १६ वर्षको उमेरमा तलव खानेगरी नेपाली सेनाको सिंहनाथ गणले गोपाललाई अर्ध सैनिकका रुपमा अनुवन्ध ग¥यो । सेनाले आयोजना गर्ने किङ्स ब्यानर फुटबल प्रतियोगितालगायत अन्य टुर्नामेन्टहरुमा उक्त पल्टनबाट फुटबल खेलेको उनी सम्झन्छन् ।
‘त्यतिबेला, हाम्रो मुख्य काम फुटबल खेल्नुमात्रै काम हुन्थ्यो,’ उनले सम्झिए, ‘वर्षमा तीनवटा आर्मी कपका टुर्नामेनटहरु हुन्थे । खेलका लागि मलाई छनौट गरियो । सबै गेमहरु काठमाण्डौंमा हुन्थ्यो । म काठमाण्डौं गएँ ।’
काठमाण्डौंमा फुटबल खेल्दै गर्दा गोपालमाथि फ्रेण्ड्स क्लबको आँखा प¥यो । आर्मीका अमृत घर्ति पनि फ्रेण्ड्स क्लबबाट फुटबल खेल्थे । एक दिन उनै अमृत घर्तिले फ्रेण्ड्स क्लबबाट फुटबल खेलिदिन आग्रह गरे । त्यतिबेला ए डिभिजन लिग फुटबल प्रतियोगिता नजिक थियो । उक्त लिगमा ए डिभिजनको क्लबबाट खेल्न आफू राजी भएको गोपाल सुनाउँछन् । फुटबल खेल्दै जाँदा उनी कहिलेकाहीँ राष्ट्रिय टिमको क्लोज क्याम्पमा पनि परे ।
त्यतिबेला, नातावाद र कृपावाद चल्थ्यो । उदीयमान युवा खेलाडी भन्दा पनि प्रायशः पुरानै खेलाडीले देश विदेश घुमेर फुटबल खेल्ने अवसर पाउँथ्यो । राष्ट्रिय टिमबाट खेल्ने उनको सपना थियो । राष्ट्रिय टिमबाट खेल्न सधैं वञ्चित भए । परिणामस्वरुप गोपालभित्र क्रमशः निराशा बढ्न थाल्यो ।
त्यसपछि, उसले लागु पदार्थको सहारा लिन पुगे । लागु पदार्थ खाएरै गेम खेल्न थाले । लागु पदार्थ खाएर गेम खेल्दा गोपाल स्वयंलाई आनन्द आउँथ्यो । राम्रो गेम खेलेको भन्दै बाहिरबाट उनलाई प्रतिक्रिया आउँथ्यो । लागु पदार्थ सेवन गरेर खेलेपछि खेलमा स्पिरिट बढ्दो रहेछ भन्दै उनी आनन्दमा रमाउन थाले । उनले लागु पदार्थलाई त्याग्नै सकेनन् ।
‘त्यतिबेला नेशनल टिमबाट खेल्ने अवसर पाएको भए शायद म लागु पदार्थको नजिक आउँदिनथे होला,’ उनी सुनाउँछन्, ‘जीवनमा कता कता एउटा फिलिङ्स थियो । बिडम्बना भनौं, मेरो जीवनमा लागु पदार्थ एक्कासी आयो । जसको बारेमा मैले बुझेकै थिइन । यो लिदैं जाँदा म एक दिन दुव्र्यशनीको रोगी बन्छु भन्ने मलाई थाहै थिएन ।’
आफ्नो जीवनलाई सधैं खुशीमा राख्नुपर्छ भन्ने उनको बलियो धारणा छ । परिवारदेखि समाजसम्मलाई खुशी बाँडेर जीवन जिउनुपर्छ भन्छन् गोपाल । सकारात्मक सोंच र दृढ संकल्पमा नै गोपालले अचेल शक्ति देख्छन् ।
‘एचआइभी भएकाहरुसँग पनि आफ्नै किसिमको विविध क्षमताहरु छन् । पहिलो, ति क्षमतालाई आफ्नो परिवारदेखि शुरु गरेर विश्वसामु ल्याउनका लागि आरोहण थियो,’ आफ्नो सगरमाथा आरोहणबारे गोपाल भन्छन्, ‘दोस्रो, अन्य रोग, संक्रमण वा समस्यामा परेर जो निराशाको जीवन विताइरहेका छन्, उनीहरुलाई पनि सन्देश दिने काम हो ।’
उनले अगाडि थपे, ‘विरामी भएरमात्र मान्छे कमजोर हुन्छन् भन्ने छैन । यदि तपाँईमा सकारात्मक सोंच छ, दुढ संकल्प छ भने धेरै उदाहरणीय काम गर्न सकिन्छ । विभेदपूर्ण समाजलाई परिवर्तन गर्न सकिन्छ । आफ्नो जीवनलाई हिनतावोध गरेर नबस्न मेरो आग्रह छ ।’
यसअघि, एचआइभी संक्रमितले पनि मनोबलसहित कठिन कार्य गर्न सक्छन् भन्ने सन्देश दिन सन् २०१६ मा उनी पहिलो पटक सगरमाथा आरोहणमा गएका थिए । भूकम्पको कम्पन चलिरहेको त्यसवेला आएको हिउँपहिरोका कारण उनको आरोहण रोकिन पुगेको थियो । सँगै गएका ५ जना साथीहरुलाई गोपालले गुमाउनुपरेको थियो । त्यतिबेला उनीपनि हिउँमा पुरिन पुगे । पछि उनलाई त्यहाँबाट उद्धार गरियो ।
सगरमाथा आरोहणका लागि अभ्यासस्वरुप सन् २०१३ को अक्टोबरमा ५ हजार ४ सय मिटरको मनाङ र मुस्ताङबीचको थोरन्ला पास गरे । यसले गोपाललाई थप आत्मविश्वास बढायो । सन् २०१४ को फेब्रुअरीमा सोलुखुम्बुको ६ हजार १ सय ८० मिटर उचाईको आइल्याण्ड पिक चढे । १४ जनाको टोलीमध्ये ४ जना आइसल्याण्ड पुगे १० जना पुग्न असफल रहे । चार जनामध्ये गोपाल पनि एक थिए । सन २०१६ को फेब्रुअरीमै कसैले नचढेको खाङसार हिमाल तीन विदेशी महिलासहित गोपालले सफल आरोहण गरे । उक्त हिमाल आरोहणसँगै उनलाई थप उर्जा भर्दै लग्यो ।
सन् २०१५ लाई लक्षित गरेर ‘गेटिङ थ्री जिरो’ ग्लोबल्ली थिम अनुसार नयाँ संक्रमण दर, एड्स रिलेटेड देश र भेदभाव तथा लाञ्छना गरी तीन लक्ष्यलाई शून्यमा पु¥याउने उद्देश्यसहितको कार्यक्रमलाई सफल बनाउन गोपालले ति हिमालहरु चढेका थिए ।
‘आरोहणमार्फत संक्रमितहरुलाई पनि समाजमा सहभागिता र अवसरहरु उपलब्ध गराउने वातावरण सिर्जना गर्ने मेरो सपना थिया,े जुन सपनालाई पूरा गरेको छु,’ गोपाल भन्छन्, ‘‘एचआइभी संक्रमितको तर्फबाट सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नु मेरो अर्को सपना थियो । गिनिज बुकमा आफ्नो कीर्तिमानी नाम लेखिएको सपना पूरा भएको देख्ने प्रतिक्षामा छु ।’
तस्वीरहरु : गोपाल श्रेष्ठको फेसबुक, पोखरा समाचार र नेपाली पब्लिक डट कमबाट