मिडिया बुर्जुवा शक्तिको हात पुग्यो, त्यसबाट जोगिनुपर्छ : प्रचण्ड

प्रचण्डले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काममा सबै सञ्चारकर्मी सचेत हुनुपर्छ, समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मी एकजुट हुनुपर्छ,’

जनसम्मत
पौष १३, २०७६, आइतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् ।

शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् ।

मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए ।

समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मी एकजुट हुनुपर्ने आग्रह गरे।

इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काममा सबै सचेत हुनुपर्ने औँल्याए ।

देशको परिवर्तन गर्नको लागि सरकारी काममा सञ्चारकर्मीले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।

विकास निर्माणका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण गर्नु मुख्य आवश्यकता भएको समेत जनाए ।

सरकारले पार्टी एकताको बेलामा जनतासामु गरेको प्रतिबद्धताअनुरूप काम गरेका उल्लेख गरे ।

‘पार्टी एकताको बेलामा जनतासामु हामीले जुन प्रतिबद्धता जाहेर गरेका थियौं, सोही अनुसारको विकास निर्माणको काम भएका छन्’ उनले भने, ‘पाँच वर्षभित्रमा जनताले सरकार आएको अनुभूति गर्ने वातावरण बन्छ।’