नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरुले निरन्तर चलखेल गरिरहेछ : प्रचण्ड

वक्तव्यमा भनिएको छ, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु’

जनसम्मत
वैशाख १०, २०७७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने चलखेलमा निरन्तर लागिरहेको बताएका छन् ।

नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु ।’

उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्मित हुन प्रेरणा र ऊर्जा दिएको बताएका छन् । एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पनि उनले अपील गरेका छन् ।

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको नभई विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश दिएको प्रचण्डले उल्लेख गरेका छन् । उनले कठोर संघर्षको बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलव्धीहरु प्राप्त भएको बताएका छन् ।

दाहालले कोरोनाविरुद्ध सरकारको प्रयासमा सहकार्य गरी विज्ञले सुझाएका सुरक्षाका उपायलाई दृढतापूर्वक अवलम्बन गर्दै एकताबद्ध संघर्षमा होमिन संपूर्ण नेता तथा कार्यकर्तालाई अपील गरेका छन् ।