पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण

जनसम्मत
जेठ २४, २०७७, शनिबार

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ ।

विश्वव्यापीरुपमा फैलिएको   कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरी शुक्रबार धुपी र चिउरीका विरुवा रोपिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले वृक्षारोपण गर्दै वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् नेकाका नेता महादेव गुरुङ, पोखरा १७ वडाअध्यक्ष तिर्थ अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा प्रत्येक बर्ष आवश्यकता अनुसारका विरुवा रोप्ने गरेको र यस बर्ष बन्दाबन्दीमा पनि वृक्षारोपण सहित परिसरमा यसअघि रोपिएका विरुवाको गोडमेल समेत गरिएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।