एन्फाको ३ स्थायी समितिको नेतृत्वमा हेरफेर

अखिल नेपाल फुटबल संघको मंगलबार बसेको आपतकालीन बैठकले संघको बाँकी कार्यकालको अवधिका लागि संघको मानार्थ अध्यक्ष पदमा टासी घलेलाई मनोयन गरेको छ

जनसम्मत
असार ३, २०७७, बुधबार

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहातका ३ वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ ।

अखिल नेपाल फुटबल संघको मंगलबार बसेको आपतकालीन बैठकले एन्फाको स्थायी समितिको नेतृत्वमा व्यापक हेरफेर गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिबब शेर्पाले समितिहरु निस्क्रिय अवस्थामा रहेकोले परिवर्तन गरिएको बताएका छन् ।

एन्फा बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ संयोजक रहेको पदपूर्ति समितिको संयोजकको जिम्मेवारी मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई पाएका छन् । नेम्वाङ नै संयोजक रहेको संघ सदस्य समितिको संयोजकको जिम्मेवारी एन्फा उपाध्यक्ष वीरबहादुर खड्कालाई पाएका छन् ।

एन्फाले जनाए अनुसार रत्नकुमार श्रेष्ठले फुटसल समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यसअघि, फुटसल समितिमा दावा लामा संयोजक थिए । सदस्य लामा पनि एन्फा अध्यक्ष शेर्पासँग असन्तुष्ट रहँदै आएका छन् । तीनवटै समितिको अन्य सदस्यहरु भने यथावत रहने एन्फाले जनाएको छ ।

बैठकले संघको बाँकी कार्यकालको अवधिका लागि संघको मानार्थ अध्यक्ष पदमा टासी घलेलाई मनोयन गरेको छ । करिब १७ महिना अघि एन्फा केन्द्रीय समितिले घलेलाई बर्खास्त गरेको थियो । घले तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनीत भएका हुन् ।

एन्फाले जारी विज्ञप्तीमा भनेको छ, ‘धारा २० बमोजिम संघको बाँकी कार्यकालको अवधिका लागि संघको मानार्थ अध्यक्ष पदमा टासी घलेलाई मनोयन गरिएको छ ।’

नरेन् श्रेष्ठ एन्फा अध्यक्ष हुँदा घले पहिलो पटक मानार्थ अध्यक्ष मनोनित भएका थिए । पछि फेरि शर्पाको नेतृत्वमा निर्वाचित कार्यसमितिले उनलाई दोस्रो पटक मानार्थ अध्यक्ष बनाएको थियो । घलेलाई पछिल्लो पटक २०७५ माघको ३ गते एन्फा कार्यसमितिले बर्खास्त गरेको थियो ।
एन्फाको निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घोर आपत्ति जनाएका छन् । एन्फाको अपतकालिन समितिको बैठकबाट सोमबार नै घलेलाई मनोनयन गर्ने तयारी भएपनि समितिका सदस्य समेत रहेको वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । त्यसलपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मंगलबारका लागि कार्यसमितिको आपकालिन बैठक डाकेका थिए । नेम्बाङ मंगलबारको बैठकमा पनि उपस्थित भएनन् ।