कोपा इटालियाको उपाधि नापोलीले जित्यो

जनसम्मत
असार ४, २०७७, बिहीवार

पोखरा । कोपा इटालियाको उपाधि नापोलीले जितेको छ ।

बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए ।

नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

हारसँगै युभेन्टसले १४ औं पटक कोपा इटालियाको उपाधि जित्ने सपना चकानाचुर भएको छ । नापोलीले भने ६ वर्षपछि उपाधि जीत्न सफल बन्यो ।