फर्कियो इङ्ल्यान्डमा पनि फुटबल, आर्सनलमाथि म्यानचेस्टर सिटीको शान्दार जित

प्रिमियरसीप लिगमा फरक अंक अन्तरले लिभरपुल शीर्ष स्थानमा छ । लिग स्थगित हुनुअघि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको थियो । सन् १९९० पछि लिभरपुल पहिलो पटक प्रिमियरसीपको च्याम्पियन बन्ने दाउमा छ

जनसम्मत
असार ४, २०७७, बिहीवार

पोखरा । कोरोना भाइरसको महामारीपछि इङ्लिस प्रिमियर लिग समेत सुचारू भएको छ ।

महामारीको लडकडाउनपछि बुधबारदेखि सुचारु प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शान्दार जित दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को प्रभावशाली जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङले गोल गरेर सुरुवाती अग्रता दिलाए ।

५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी बन्यो । जितपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।

कोरोना महामारीको सन्त्रासपछि झन्डै ३ महिनापछि विश्वमा खेलकुद गतिविधि क्रमशः चलायमान बन्दैछ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरु सुचारु भइसकेका छन् ।

मेबाट सुचारु भएको जर्मन बुन्डेसलिगा सकिएको छ । त्यसैको संघारमा अघिल्लो साताबाट स्पेनिस ला लिगाका खेल सुरु भइसकेका छन् । युरोपेली राष्ट्र इटलीमा पनि फुटबल फर्किसकेको छ । यसै क्रममा सबैभन्दा लोकप्रिय र चर्चित इङ्ल्यान्डको इङ्लिस प्रिमियर लिग ३ महिनापछि बुधबारदेखि सुरु भएको हो । यस सिजनको जर्मन बुन्डेसलिगा लिग फुटबल सकिएसँगै इङ्लिस प्रिमियसीप लिग फुटबल सुचारु भएको छ ।

प्रिमियरसीप लिगमा फरक अंक अन्तरले लिभरपुल शीर्ष स्थानमा छ । लिग स्थगित हुनुअघि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको थियो । सन् १९९० पछि लिभरपुल पहिलो पटक प्रिमियरसीपको च्याम्पियन बन्ने दाउमा छ ।

यस सिजनको च्याम्पियनसँगै लिभरपुल ३० वर्षपछि च्याम्पियन बन्नेछ । लिभरपुलाई च्याम्पियन बन्न अब २ खेल मात्रै पुग्छ । लिग स्थगित नभएको भए लिभरपुल मार्चमै च्याम्पियन बनिसक्थयो । साथै, उसले आफ्नो समर्थकबीच जितको खुशीयाली मनाएको हुन्थ्यो । कोभिड–१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई तीन महिनाभन्दा बढी ढिला गरिदिएको छ ।

यद्यपी, लिभरपुललाई च्याम्पियन बन्न कसैले पनि रोक्ने छैन । यस सिजनको प्रिमियरसीपमा लिभरपुललाई दोस्रो स्थानको सिटीले भेट्ने गणितीय संभावना निकै कम छ । बुधबार सिटीले आर्सनलसँग पराजित गरेको अवस्था छ । उक्त खेलमा सिटीको पराजित र मर्सिसाइड टिमको आफ्नो पहिलो खेलमा एभर्टनलाई पराजित गरे पहिलो खेलबाटै लिभरपुलले उपाधि उचाल्ने पक्का जस्तै थियो ।

यतिमात्र होइन योर्गेन क्लोपको टिमले यसअघि सिटीको नाममा रहेको कीर्तिमान समेत तोड्ने संभावना छ । लिभरपुलले अब संभावित २७ मध्ये १९ अंक जोडेमा सिटीको २०१७÷०१८ मा जोडेको १०० अंकको कीर्तिमान तोड्नेछ । यस्तै त्यही सिजन सिटीले १९ अंककामे अन्तरमा उपाधि जितेको थियो । यस सिजनको उपाधिसँगै लिभरपुलले त्यस कीर्तिमानलाई समेत तोड्ने संभावना छ ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत वर्ष जुनमा म्याड्रिडमा खचाखच दर्शकका सामु च्याम्पियन्स लिग ट्रफी उठाएका थिए । तर, यसपटक उनीसहित लिभरपुल टोली दर्शक बिनै ट्रफी उठाउने तयारीमा छन् । हेन्डरसनले दर्शक बिना ट्रफी उठाउनु परे अनौठो हुने बताउँदै आएका छन् ।