राष्ट्रिय सभामा जाँदैं वामदेव गौतम

सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त १ सीटमा गौतमलाई पठाउने कि अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहो¥याउने भन्ने विवाद थियो

जनसम्मत
भाद्र १८, २०७७, बिहीवार

पोखरा । नेकपा उपाध्यक्ष वामदेव गौतम संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)मा जाने भएका छन् ।

बिहीवार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गतेको पार्टी निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने जानकारी गराएका हुन् ।

सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको रिक्त १ सीटमा गौतमलाई पठाउने कि अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहो¥याउने भन्ने विवाद थियो ।

गौतमलाई सिफारिश गर्ने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि नेकपाभित्र विवाद बल्झिएको थियो । नेकपा सचिवालयका ९ जना सदस्यमध्ये गौतम मात्र संसदबाहिर थिए ।

लामो समयको अन्योलता चिर्दै पार्टी निर्णय कार्यान्वयन गर्दै सरकारले गौतमको नाम सिफारिश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य नियुक्त गर्ने छिन् । २०७६ फागुन २० गतेदेखि राष्ट्रिय सभाको १ सीट रिक्त छ ।

बिहीवारको बैठकमा पार्टीको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफलबारे पनि छलफल भएको छ ।

ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

 

लोकान्तर डट कममा समाचार छ ।