आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा

जनसम्मत
कार्तिक २९, २०७७, शनिबार

आज (शनिबार) एकैदिन कुकुर तिहार र लक्ष्मी पूजाको तिथि परेको छ।

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्नै गर्दछ।

तर, यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

आजै (शनिबार) बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ। यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ।

इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ।

आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ। सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ।