पोखराको इतिहासमै पहिलो पटक १३ औं सागको पोखरा उद्घाटन

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन्

नारायण शाही
मंसिर १७, २०७६, मंगलवार

पोखरा ।  पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलो पटक १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को भव्यरुपमा पोखरा उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन् । उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए ।

विशेष अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग सफलताको शुभकामना व्यक्त गरे ।

समारोहको अध्यक्षता ग्रहण गरेकी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिता सफल पार्न सम्पूर्णले सहयोग गर्नुपर्ने बताइन् । उनले सागका कारण पोखरामा खेल पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश शिलवालले एक ठाउँमा मात्र नभई विभिन्न ४ सहरमा हुँदा सम्बन्धित सहरलाई थप परिचित गराउने बताए ।
तीन महिनाको अवधिमा रंगशालामा सुविधायुक्त पुर्वाधार निर्माण गरिएको दाबी गरे ।

सिलवालले भने, ‘पोखरामा हुने विभिन्न ८ खेलका लागि हतारहतारमा भौतिक संरचना निर्माण अधुरै राखेर साग उद्घाटन गरिएको हो । छोटो समयका कारण कतिपय संरचनाको निर्माण पूरा हुन सकेको छैन ।’

सागको पोखरा शुभारम्भ अवसरमा सहभागि विभिन्न ७ राष्ट्रका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समारोहको अन्त्यमा पोखरा रंगशालाको आकाशमा आतीशवाजी समेत गरिएको थियो ।

समारोहमा सातै देशको कला संस्कृति झल्किने नृत्यदेखि पोखरा र गण्डकी प्रदेशकै जनजाति र भेषभूषा झल्किने गरी झाँकी समेत प्रदर्शन गरिएको थियो ।

साग पोखरा खेल व्यवस्थापन समिति संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले लामो समयको दुविधाबीच सुस्तगतिमा निर्माण जारी रहँदा साग पक्का भएपछि निर्माण कार्य हतार–हतारमा गरिएको बताए । गुरुङले केही खेलको भौतिक संरचनाको फिनिसिङ बाँकी रहेको भएपनि खेल तालिका अनुसार कुनैपनि खेल खेल्न मैदान अभाव नहुने दाबी गरे ।

पोखरा रंगशालामा विभिन्न ७ राष्ट्रका झण्डा फहराइएको छ । मूलद्वारपछि सडकको दायाँ–बायाँ फूल सजाइएको छ । पोखरा रंगशालालाई जताततै रंगरोगन गरेर स्पोर्ट्स भिलेजको रुपमा सजाइएको छ ।

सागअन्तर्गत पोखरामा ८ खेल हुँदैछन् । प्याराग्लाइडिङ समेत हुने भनिएकोमा अन्ततः टिम सहभागिता नहुँदा अन्तिम समयमा हटाइएको थियो ।

पोखरा साग उद्घाटन अघि ब्याडमिन्टन खेल आइतबारदेखि नै सुरु भएको हो । सोमबार महिला क्रिकेट र ट्रायथलन सुरु भएको छ । ८ खेलमध्ये पोखरा रंगशालामा महिला फुटबल, महिला क्रिकेट, महिला–पुरुष ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन हुनेछ । फेवाताल किनारमा बीच भलिबल, माटेपानीमा भारोत्तोलन र फेवातालमा ट्रायथलन हुनेछ ।

यहाँ ८ खेलमा कुल १ सय ५१ पदक (४८ स्वर्ण, ४८ रजत र ५५ कास्य) का लागि प्रतिष्पर्धा हुनेछ ।

पोखरामा कुल ७ सय २२ जना खेलाडी पदकका लागि भिड्नेछन् । खेलाडीमध्ये ४ सय १ जना महिला खेलाडी रहेको प्रचार–प्रसार तथा प्रकाशन उपसमिति संयोजक केशव पाठकले जनाए ।