पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो ।
टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्बाधिक १२ रन र ईन्दु वर्माले १० रन जोडेपनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् । अन्य खेलाडीले खाता खोल्नै सकेनन् ।
‘प्लेयर अफ द म्याच’ रबैया खानले नेपालको महत्वपूर्ण ४ विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १÷१ विकेट लिन सफल भए ।
५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले कुनैपनि विकेट नगुमाई ७.४ ओभरमै जित निकाल्यो । बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले ३ चौका तथा २४ बल सामना गरेकी खातुनले ४ चौका प्रहार गरिन् ।
बुधबारको अर्को खेलमा श्रीलंकाले कमजोर माल्दिभ्समाथि २ सय २४ रनको जित निकालेको हो । पहिला व्याटिङ गर्दै श्रीलंकाले २ विकेटको क्षतिमा २० ओभरमा २ सय ७९ रनको विशाल योगफल तयार पारेको थियो ।
श्रीलंकाकाको तर्फबाट ‘प्लेयर अफ द म्याच’ घोषित हर्षिता माधवीले अविजित १ सय ६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा ३ छक्का र १५ चौका प्रहार गरिन् । शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् । उनले ४८ बलमा ३ छक्का ११ चौका प्रहार गरेकी थिइन् ।
माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो आँकडाको योगफल जोडन समेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले ५÷५ रन बनाए ।
बंगलादेशको वलिङतर्फ अज अनलीले ३, संदिपनीले २ तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान १÷१ विकेट लिए । योसँगै राउण्ड रोविन लिगका सबै टिमले दुई÷दुई खेल खेलेका छन् । दुई खेलमा दुबै जित निकालेको बंगलादेश ४ अंक सहित शीर्षस्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल २ अंक सहित दोश्रो स्थानमा रहेको छ ।
समान २ अंक जोडेपनि श्रीलंका तेश्रो स्थानमा छ । कुनैपनि जित ननिकालेको माल्दिभ्स अन्तिममा छ । प्रतियोगिता अन्तर्गत बिहीबार विहान ११ बजेदेखि शुरु हुने खेलमा बंगलादेश र माल्दिभ्स आमने–सामने हुनेछन् ।