पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै ६ अंक बटुलेसँगै नेपाल सेमिफाइनलमा प्रबेश गरेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी थिइन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।
पोखरामा जारी साग महिला ह्याडबलमा पाकस्तिानले मालदिभ्समाथि ३२–२७ गोल गर्दै जित हासिल गरेको छ । जितसँगै पाकिस्तानले ३ अंक जोडेको छ । माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । यसअघि, माल्दिभ्सले आफ्नो पहिलो खेलमा भारतसँग ९–४१ को फरक गोल अन्तरले हारेको थियो ।
पाकिस्तानको जितको लागि निजिसाले सर्वाधिक ८ गोल गरिन् । माल्दिभ्सको तर्फबाट अडिमा र रिमाले सर्वाधिक समान ६ गोल गरिन् ।
साग खेलकुद अन्तरगतको पुरुष ह्याण्डबलमा बंगलादेशले जित निकालेको छ । पहिलो खेलमा भारतसँग ४२–३३ ले हारेको बंगलादेशले समूह चरणको बिहीबार आफ्नो दोस्रो खेलमा माल्दिभ्समाथि ३८–२२ ले जित्दै ३ अंक बटुलेको हो ।
समूह ‘ए’ बाट भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । शुक्रबार समूहको अन्तिम खेल माल्दिभ्स र भारतबीच हुनेछ । बंगलादेशका लागि मेहेदी हसनले सर्वाधिक ७ गोल गरे । माल्दिभ्सका लागि मोहम्मद रेजुनी अहमदले सर्वाधिक ६ गोल गरे ।