ए डिभिजन लिगमा मनाङको विजयी शुरुवात

जनसम्मत
पौष ३, २०७६, बिहीवार

पोखरा । ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मस्र्याङदी क्लवले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–० ले हरायो । सुरुवातमा नै आक्रामक देखिएको मनाङले खेलको २८ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि बिमल रानाले हेड मार्फत उत्कृष्ट गोल गरे ।

लगत्तै खेलको ३५ औं मिनेटमा बिमलकै गोलमा मनाङले दोब्बर अग्रता बनायो । एपीएफको डिफेन्समा तालमेल नमिल्दा विमलले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङमा गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलले अग्रता बनाएको मनाङले दोस्रो हाफमा एपीएपलाई दवावमै राखेर खेल्यो । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको एपीएफले मनाङको प्रहारलाई रोक्न सफल बन्यो । खेलमा फर्कने एपीएफको प्रयास भने असफल बन्यो । जितसँगै लिगमा मनाङले तीन अंक दर्ता गराको छ ।

थ्री स्टार–जावलाखेलको बराबरी

सहिद स्मरक ए डिभिजन लिग फुटबलमा ललितपुरको दुई क्लबले गोलरहित बराबरी खेलेका छन् ।

सातदोवाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्री स्टार जावलाखेल दुवै टिम गोलरहित बरारबरीमा रोकिदै लिगको शुरुआत गरेका छन् । बराबरीसँगै दुवै टिमले शुरुवाती समान १÷१ अंक बनाएका छन् । दुवै टिमले पाएका अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिन पुगेका हुन् ।