देवीस्थानको भीम माविलाई मालिका रनिङ शिल्ड

मालिका गाउँपालिकाको आयोजनामा दरबाङमा भएको प्रतियोगितामा १३ स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्दै भीम माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

म्याग्दी । गत बर्षको विजेता भीम मावि देवीस्थानले यस बर्षको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि जितेको छ ।

मालिका गाउँपालिकाको आयोजनामा दरबाङमा भएको प्रतियोगितामा १३ स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्दै भीम माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो ।

यस संस्करणको रनिङ शिल्डमा विजेता बनेसँगै भीम माविले उपाधि रक्षा समेत गरेको छ । भीम माविले रनिङ शिल्डको उपाधिसँगै ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी, ७ स्वर्ण, १० रजत र ५ कांस्य जितेको किसानी मावि विम दोस्रो भएको छ । उपविजेता किसान माविले ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै, ३ स्वर्ण, ५ रजत र ७ कांस्य जितेको जनप्रिय मावि तेस्रो बनेको छ । जनप्रियले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । विधागत प्रतियोगितामाम विजेता, उपविजेता र तेस्रो हुने विद्यालयलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिएका छन् ।

प्रतियोगितामा दरबाङ इङ्लिस बोर्डिङ स्कुलले ३ स्वर्ण, २ रजत र १ कांस्य जित्न सफल भयो । केबी एकेडेमी बोर्डिङ स्कुलले २ स्वर्ण, २ रजत र ४ कांस्य जित्न सफल भयो । ओखरबोट माविले ३ रजत पदक जित्यो । सिद्धार्थ माविले १ स्वर्ण र २ कास्य पदकमा चित्त बुझायो । अमरज्योति माविले १ स्वर्ण र २ कांस्य पदक जित्न सफल रह्यो । निस्कोट माविले १ कांस्य पदक मात्रै जित्यो । राष्ट्रिय माविले २ रजत र २ कांस्य पदकमा चित्त बुझायो । गौबमबस्त माविले ३ रजत २ कांस्य जित्न सफल भएका छन् ।

मालिका गाउँपालिकाको दरबाङमा शनिबार सम्पन्न अन्तरमाविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सातवटा वडाका सामुदायिक र निजी विद्यालय गरी ११ विद्यालयको सहभागिता थियो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले विजेता तथा उपविजेता विद्यालयहरुलाई पुरस्कार वितरण गरे ।