बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् ।
कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका छन् ।
रहिमले बंगलादेशबाट टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएको ब्याट लिलाम गर्न लागेको समाचार छ । उक्त ब्याटमार्फत रहिमले २०१३ मा श्रीलंकाविरुद्ध दोहोरो शतक बनाएका थिए ।
रहिमले अहिलेसम्म ३ पटक दोहोरो शतक बनाएका छन् । बंगलादेशको क्रिकेट इतिहासमा अहिलेसम्म ५ वटा दोहोरो शतक बनेको छ । रहिमले ३ पटक दोहोरो शतक बनाउँदा शाकिब अल हसन र तमीम इकबालले १/१ पटक दोहोरो शतक बनाएका छन् ।