हालसम्म ३३ हजारको कोरोना भाइरसको परीक्षण

हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जनसम्मत
वैशाख ९, २०७७, मंगलवार

पोखरा । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट ८ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंया मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी परीक्षण गराउनेको संख्या ३ हजार १९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले भने, ‘आरडीटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म २ हजार ३४९, प्रदेश नं २ मा ३ हजार २३८, वाग्मती प्रदेशमा ४ हजार ६७६, गण्डकी प्रदेशमा ३ हजार ७५१, प्रदेश नं ५ मा २ हजार ३२४, कर्णाली प्रदेशमा ३ हजार २३२ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५७८ वटा आरडीटी परीक्षण भइसकेको छ ।’

क्वारेनटाइनमा बस्ने व्यक्तिको संख्या ५ हजार ९३६ छ । आइसोलेसनमा रहेका बिरामीको संख्या १११ छ । यसमध्ये उपत्यकाभित्र ४ जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले संचालन गरेको २ वटा कल सेन्टर ९१११५ र ११३३० मा गत २४ घण्टामा २ हजार २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं मा निःशुल्क कल सेन्टर शुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले संचालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड–१९ डट एमओएचपी डट जिओभी डट एनपीमा हालसम्म आफ्नो स्वमूल्यांकनका लागि इन्ट्री गर्ने व्यक्तिको संख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाई छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्यांकन फाराम भरेका छन् । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ ।

हालसम्म कूल रेडजोनमा हुनेको संख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पीसीआर मेसिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पीसीआर नमूना संकलन गरिएको छ । नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।

मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटुरोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ ।

डा देवकोटाले भने, ‘विभिन्न व्यक्ति र संघसंस्थाले हेमोफिलिया बिरामीलाई आवश्यक सामग्री उपलब्ध गराउन गरेको आग्रहको बारेमा सरकारले सहजीकरण गर्नेछ । लकडाउनका कारणले अस्पतालसम्म पुग्न नसकेर औषधि सेवन गर्नबाट वञ्चित भएका बिरामीका लागि पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।’