पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाखतर्फ

जनसम्मत
जेठ २२, २०७९, आइतबार

पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एक महिने भारत यात्रामा निस्केको छ।

यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक पोखराको पर्यटन प्रवद्र्धन गर्न विदेश निस्केको हो।

पोखराको पर्यटन व्यवसायमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका लागि भारतका विभिन्न सहरहरु हुँदै लदाखसम्मको यात्रामा निस्केका हुन्।

पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हँदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिएका छन्।

उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने, एक र अर्को ठाउँ बारेमा जानकारी आदान–प्रदान गर्न आफूहरु सफल हुने बताए। उनले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको बताउँदै पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले यसअघि नै नेपालका ७० जिल्लाको यात्रा सकेको बताए।

विदाई कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सुरक्षालाई ध्यानमा राख्दै यात्रा गर्न शुभकामना दिए। उनले भारतको लामो यात्रा गर्दा पोखरा र नेपालको ठूलो विज्ञापन हुने बताए। उनले पोखरा साहाशिक गतिविधिको शहर भएकाले ‘डुलुवा’ समूहले भारतका विभिन्न सहरमा साहाशिक गतिविधिको प्रबद्र्धन गर्ने बताए।

भारतीय पेन्सन क्याम्प पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्धमा अझ राम्रो छाप छोड्ने बताउने बताए। उनले भारतका प्रसिद्ध र परंपरागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरेकोमा खुशी व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आफूले करीब १५ वर्ष पहिले नै त्यस क्षेत्रको भ्रमण गरेको बताए। उनले पोखराको फेवातालदेखि भारतको प्याङगन लेकसम्म जान पाउनु एउटा अविश्मरणीय यात्रा हुने बताए।

समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराईले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको बताए। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवद्र्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा ९ जना प्याराग्लाइडिङ पाइलट समेत रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिए। उनले सन् २००८ देखी ‘डुलुवा’ नाम जुराएर घुमघाम गर्दै आएको बताए। समूहले पर्यटन प्रवद्र्धनसँगै आवश्यकता हेरेर विद्यार्थीहरुलाई न्यानो कपडा, स्कुलका सामग्री र खेल सामग्री वितरण गर्दै आएको बताए।

टोली प्रमुख योगेश भट्टराइलाई भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतको र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपालका झण्डा हस्तान्तरण गर्दै विदाई गरेका थिए।