पोखरा । पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ ।
शनिबार पोखरामा सम्पन्न कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
पोखरा रंगशालास्थित आर्चरीको खेल मैदानलाई व्यवस्थित गर्न यसअघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख खर्च गरिसकेको छ । मैदान संरक्षणका लागि ३० लाख खर्च गरेर तार जालीसमेत लगाइएको छ । आर्चरी खेल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन चेञ्जिङ रुम र शौचालयका लागि थप १० लाख विनियोजन गरेको छ । तर, यो खर्च पनि आधुनिक आर्चरी खेल मैदानका लागि थप ७५ लाख खर्च हुने संघले जनाएको छ । यसका लागि परिषदसँग माग गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
१० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै राखेप बोर्ड सदस्य राजेश गुरुङले आर्चरीले देश चिनाउन आर्चरीले अहम भूमिका खेलेको बताए । उनले भने, ‘आर्चरी हाम्रो देशको पराम्परागत खेल भएपनि अब यस खेलले देश चिनाउने माध्यम बनेको छ । हामी सबैले आर्चरीको खेल र खेलाडीहरुलाई माथि उठाउने काम गर्नुपर्छ ।’
गुरुङले नयाँ खेलाडी उत्पादनमा जोड दिनुपर्ने वताए । उनले विद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षणको व्यवस्था गर्न आर्चरी संघलाई आग्रहसमेत गरे ।
‘पोखरा रंगशालालाई वातावरणमैत्री बनाउन हरियाली बढाउन आफूले सक्दो पहल गर्नेछु,’ गुरुङले भने, ‘खेलाडीले अवेरसम्म प्रशिक्षण गर्न पाउन भनेर पोखरा महानगरको सहयोगमा मैदानभित्र सोलारबत्तिको समेत व्यवस्थासमेत गरिनेछ ।
गुरुङले पोखरामा आयोजना हुने आर्चरीका गतिविधिका लागि आफ्नो व्यक्तिगत तर्फबाट १ लाख सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदमा आर्चरी अन्तरगत पदक बिजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल आचरी संघका उपाध्यक्ष बसन्त थकाली, संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना दिए ।
साधारणसभामा सचिब देव पुन र अन्नपूर्ण आर्चरी क्लबका सचिब सञ्जीवमान तुलाचनले दुई छुट्टा–छुट्टै वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कास्की जिल्ला आर्चरी संघ तथा अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले क्लबमा अक्षयकोष स्थापनाका लागि १ लाख नगद दिने घोषणा गरेका छन् । त्यसैगरि, कार्यसमिति सदस्य चित्रा रोक्कामगर ८ हजार बराबरको १० थान कुर्ची र जुम भट्टचनले ५ हजार बराबरको एक थान टेबुल प्रदान गरेका छन् ।
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेश बाट सहभागि खेलाडीले ५ स्वर्ण, ४ रजत र ३ काश्य पदक जितेका थिए । गण्डकी प्रदेश टिम च्याम्यिन भएपनि परिषदले आर्चरी तर्फको मेडलको भने गणना गरेको छैन ।