होटल संघ पोखरा नेपालको आयोजनामा हालै पोखरामा एक दिने टुर प्याकेज तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
तालिममा पर्यटन क्षेत्र सम्बद्ध तीन दर्जन व्यवसायीको सहभागिता थियो।
आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सो अवसरमा बोल्दै सुवेदीले होटल संघले लामो समयदेखि आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाउँ है पोखरा अभियान र भारतमा पनि त्यसैगरी चलिय पोखरा अभियान संचालन गर्दै आइरहेको स्मरण गराए। यतिमात्र नभई चीन र अन्य तेश्रो मुलुकमा समेत नेपाल प्रबद्र्धनका लागि पर्यटन मार्टहरुमा संघ सहभागी हुँदै आएको अध्यक्ष सुवेदीले बताए।
कोभिड १९ का कारण दुई बर्ष पोखरासँगै नेपालको पर्यटन ठप्प हुन पुग्दा थुप्रै पर्यटन व्यवसायी र यस क्षेत्रका मजदूर, कामदार र कर्मचारीहरु पलायन हुन पुगेको समेत उनले बताए।
बितेका ६ महिनायता पर्यटक आगमन राम्रै रहेपनि पछिल्ला दिनहरुमा भने अफ सिजन लगायत विविध कारणले पर्यटन आगमन सन्तोषजनक हुन नसकेको अध्यक्ष सुवेदीले जानकारी दिए। होटल, ट्राभल, पदयात्रा, साहसिक पर्यटन लगायत विविध क्षेत्रलाई समेटेर अहिलेको अफ सिजनमा पर्यटकका लागि विशेष प्याकेज बनाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको सुवेदीले बताए। आउने सेप्टेम्बर, अक्टोबार र नोभेम्बर महिनामा पर्यटक आगमन राम्रो रहनेमा आफूहरु आसावादी रहेको सुवेदीले बताए।
सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रमराज गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख निर्देशक काशिराज भण्डारी र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले सहभागीहरु बिच आफ्ना प्रस्तुती राखेका थिए।
पर्यटन सम्बद्ध संघसंस्थाको तर्फबाट बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले तालिमले व्यवसायीमा थप उर्जा मिलेको भन्दै व्यवसायलाई परिष्कृत ढंगले अगाडि बढाउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे। सो अवसरमा आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले उपस्थिति सबैलाई धन्यवाद दिए। कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए।