सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहा–रारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ।
आयोजक क्लबले आज (शनिबार) आय–व्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो।
प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकैपटक ठूलो मात्रामा आर्थिक नोक्सान भएपनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए।
उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कूल ३ लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ।
गत माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो। १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब उपविजेता बनेको थियो। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए।
दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै संचालन गरिएको थियो। क्लबले प्रतियोगिताका लागि कूल ६६ लाख ४१ हजार १८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ।
हेर्नुहोस, क्लबको आय–व्यय पूर्ण पाठ