भारतले जित्यो, साफ यु–२० च्याम्पियनसीप फुटबलको उपाधि

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

भारतले साफ यु–२० को च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ।

यसअघि, लिग चरणमा बंगलादेशसँगको बदला लिदैं फाइनलमा भारतले बाजी मारेको हो।

केहीबेर अघिमात्र सकिएको फाइनल खेलमा भारतले बंगलादेशमाथि ५–२ को नतिजा निकाल्दै उपाधि जितेको हो। भारतका लागि गुरकितर सिंह एक्लैले ४ गोल गरेपछि घरेलु टोली भारतको जित संभव भएको हो।  योसँगै भारत दोस्रो पटक च्याम्पियन बनेको हो।

यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसीपमा पनि भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो।

निर्धारित ९० मिनेटको खेल २/२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। जसमा भारतले ३ गोल थप्यो। भारतका गुरकिरतले निर्धारित ९० मिनेटमा २ र अतिरिक्त समयमा २ गोल गरे। हिमांशु जांग्राले १ गोल थपे।

यस पटक ५ टिम सम्मिलित च्याम्पियनसीप सिंगल राउण्ड रोविनको आधारमा खेलाइएको थियो। जहाँ बंगलादेश पहिलो र भारत दोस्रो भएर फाइनल पुगेका थिए। पहिलो खेलमै भारत बंगलादेशसँग २–१ ले पराजित बनेको थियो। तर, त्यसपछि भारतले लगातार ४ खेल जित्दै उपाधि जित्यो।

पहिलो खेलमा बंगलादेशसँग बेहोरेको हारको बदला लिँदै भारतले उपाधि घरमै राख्न सफल बन्यो। नेपाल भने तेस्रो हुँदै घर फर्किसकेको छ।