टी–२० मा घरेलु केन्यामाथि नेपालको सहज जित

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

पहिलो टी–२० मा घरेलु टिम केन्यामाथि नेपालले ५ विकेटको सहज जित दर्ता गराएको छ ।

बिहीबार नैरोबीमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गरेको थियो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । आरिफ शेखले नटआउट २४ रन जोडे । उनले १५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

ओपनर पवन सर्राफ १ रनमा आउट भए भने आसिफ शेखले २७ बलमा १९ रन बटुले । ज्ञानेन्द्र मल्ल ३० बलमा २३ रन जोडेर आउट बने । उनले ३ चौका हिर्काए । विराज पटेलबाट बोल्ड हुनुअघि उपकप्तान रोहित पौडेलले १४ बलमा १३ रन जोडे । बलिङमा केन्याका लुकास र विराज पटेलले २/२ विकेट लिए ।

त्यसअघि नैरोबीस्थित जिमखाना क्लब मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्यो ।

केन्याका लागि इरफान करिमले ४४ बलमा ३४ रन जोडे। त्यसअघि ओपनर एलेक्स ओबन्डा ६ रनमा सोमपाल कामीबाट बोल्ड भए । यस्तै, कोलिन्स ओबुया १२ रनमा आउट भए ।

राखेप पटेललाई नेपालका सन्दीप लामिछानले ९ रनमा एलबिडब्लूको धरापमा पारे । नेल्सन ओधिएम्बो १९ रनमा आउट भए ।

यस्तै, सचिन भुडियाले १५ बलमा १७ रन जोडे। उनले नेपालका कप्तान सन्दीप लामिछानलाई १८ ओभरमा २ छक्का हिर्काएका थिए । लुकासले १२ बलमा ५ चौका र १ छक्कासहित नटआउट ३१ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे भने आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

नेपालले केन्यामा पाँच टी–२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल भोलि खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ। चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ ।

यस्तै, तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।