पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसीप २०२२’ जी–२ र्याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप–२०२२’ अन्तर्गत १० स्वर्ण पदक सहित नेपाल अग्रस्थानमा छ।
पुम्सेतर्फको इभेन्टमा २१ वटा विभिन्न समुहको प्रतिस्पर्धामा नेपालले १० स्वर्ण पदक हात पार्दै अग्र स्थानमा रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताएका छन्।
पोखरामा विहिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत व्याडमिन्टन कोर्टमा भएको भएको प्रतिस्पर्धामा नेपालपछि छेमीकी मुलुक भारतले ७ स्वर्ण पदक हात पार्दै नेपाललाई पछ्याएको छ। १३ देश सहभागी उक्त खेलमा मलेसियाले २ स्वर्ण, बंगलादेश र पाकिस्ताने भने १/१ स्वर्ण पदक हात पार्न सफल भएका छन्।
नेपालको जितमा स्वर्ण पदक ल्याउने खेलाडीहरुमध्ये १४ देखि १८ बर्ष उमेर समुहतर्फ आयुष गुरुङ, १८ देखि ३० बर्ष महिलातर्फको उमेर समुहमा सविना, सुस्मिता र प्रंशन्सा छन्।
त्यसैगरी, १८ देखि ३० बर्ष पुरुषतर्फको खेलमा जित, प्रेम र अन्जनको समुहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ बर्ष उमेर समुहमा अर्पणा चौधरीले स्वर्ण पदक दिलाएकी छन्।
त्यसैगरी ९ देखि १२ बर्ष उमेर समुहमा प्रतिक्षा राना, १४ देखि १८ बर्ष टिम पुरुषतर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, ९ देखि १२ बर्ष उमेर समुहमा महिलातर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक जितेका छन्।
त्यस्तै, १२ देखि १४ बर्ष उमेर समुहमा ट्रिजन चौधरी र सोही इभेण्टको महिलातर्फको टिम इभेण्टमा अन्जिला मोक्तान, सइना रिजाल र निकिता रावतले स्वर्ण पदक हात पार्न सफल भएका छन् ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेजबहादुर गुरुङ, भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जी–२ र्याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेलहरु जारी छन्।
उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएका छन्।