पोखरामा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

जनसम्मत
असाेज २८, २०७९, शुक्रबार

पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुभारम्भ भइसकेको छ।
एकतावद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ शुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८:०० बजे पोखरा रंगशालामा शुभारम्भ गरे।

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए। यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास व्यक्त गरे। यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उनले बताए।

आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न खिेलाडीहरुसमक्ष आग्रह गरे। उनले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे। उनले खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताए। उनले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिए।

रंगशालामा ठ वटै प्रदेश, ३ विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिबीच समुद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता थियो।

समारोहमा ७ वटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ। मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको छ।

यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ। उद्घाटन समारोहअगावै रंगशालाका प्यारापीटमा खेलकुदप्रेमीको उल्लेख्य उपस्थिति छ। सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको छ। उद्घाटनकै क्रममा आतिसबाजी पड्काइएको छ।

समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गरेका छन्। झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे«लाई रेखांकित गरेको छ।

मन्त्री गहतराजले खेलकुदको विकासका लागि ३ वटै तहका सरकार लाग्नुपर्ने बताए। खेलकुदको गुरुयोजनालगायतका कार्यक्रमअघि बढाइएको उनले बताए। केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकायहरू खेलको विकासका लागि लागेको उनले बताए। संघीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारीसहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उनले बताए। यस प्रतियोगितासँगै आगामी दिनमा तयार हुने खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए। गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त संभावना रहेको उनले बताए। खेलका माध्यमबाट अन्तराष्ट्रिय एवं राष्ट्रिय रुपमा एकता कायम गर्न सकिने उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय संभावनालाई अझै उजागर गर्ने बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताए।

कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन्। कूल ६ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ। प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो।

३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका ७ जिल्लामा भैरहेको छ। गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल संचालन भएका छन्।