राष्ट्रिय खेलकुद: आर्चरीमा गण्डकी अगाडि, पुरुषतर्फ दुर्गा र महिलातर्फ अनुस्का

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि छन्।

शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्तीमगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरीयतामा रहे।

वरीयताको राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि छन्। ७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरीयताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्तीमगर ६४९ अंक ल्याउँदै तेस्रो वरियतामा छन् । स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे।

महिलातर्फ अनुश्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा छन्। ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा बिक दोस्रो वरियतामा रहँदा एपीएफकी सोनुजया राईले ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन्। महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन्।

समग्र टीमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहे। ३ उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टीमको १९६० र महिलातर्फ आर्मीको १७५३ स्कोर रहेको छ। पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ । महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहे।

आवश्यक टार्गेट बोर्ड नभएका कारण २ पटक गरी खेल खेलाइएको थियो। आर्चरी खेल संघका अधिकारीहरुले आवश्यक खेलसामाग्री तत्काल व्यवस्था गर्न माग गरेका छन्। खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ। प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन्। मधेश र कर्णाली भने सहभागी भएन।

पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ।