अमेरिकी सिनेटद्धारा ‘टिकटकमाथि प्रतिबन्ध’ को अनुमोदन

टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्सलाई आफ्नो हिस्सेदारी बेच्न ६ महिना समय दिने विधेयकलाई अनुमोदन गरेको हो

जनसम्मत
वैशाख १२, २०८१, बुधबार

अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विवादास्पद ऐतिहासिक विधेयकलाई अनुमोदन गरेको छ।

अमेरिकाले टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्सलाई आफ्नो हिस्सेदारी बेच्न ६ महिना समय दिने विधेयकलाई अनुमोदन गरेको हो।

साथै, संयुक्त राज्यमा एप ब्लक गरिने गरी विधेयकलाई अनुमोदन गरेको हो।

लामो समयदेखि अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने भनी कुरा उठेपनि यसमा विवाद भइरहँदा थप कदम अघि बढ्न सकेको थिएन।

अब भने यस विवादास्पद विधेयक संसदबाट पारित भएको छ।

विधेक संसदबाट पारित भएसँगै अब यो प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनकहाँ पुग्नेछ।

बाइडेनले यसअघि नै संसद्ले उक्त विधेयक पारित गरेमा आफूले प्रमाणित गरिदिने बताएका छन्।

बाइडेनले हस्ताक्षर गर्नासाथ जबरजस्ती बिक्रीको प्रक्रिया पूरा गर्नका लागि चिनियाँ अधिकारीहरूबाट स्वीकृति लिनुपर्नेछ।

जसको विरोध गर्ने बेइजिङले यसअघि नै जनाएको छ।

माउ कम्पनीले यो एप बेच्नुपर्ने, अन्यथा अमेरिकामा उक्त एप बन्द गर्ने प्रस्तावसहित संसद्मा दर्ता भएको उक्त विधेयकको अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरेका छन्।

राष्ट्रपति पदमा बहाल रहँदा सन् २०२० मा टिकटकमा प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अहिले भने त्यस्तो प्रतिबन्धले फेसबुकको माउ कम्पनी मेटालाई अनुचित लाभ दिने बताउँदै आएका छन्।