पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

महानगर क्षेत्रभित्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान

जनसम्मत
असार ३१, २०८१, सोमबार

पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ।

महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय रुपैयाँ बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो।

उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन्।

प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको स्पष्ट पारे।

कृषिको यान्त्रीकीकरण तथा व्यवसायिकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतिपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडास्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदान र साझेदारीलगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवद्र्धन गरिएको उनले उल्लेख गरे।

कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स संचालन गरेको उनले बताए।

निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको उनको भनाई छ।

‘पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको छ’, उनले उल्लेख गरे, ’यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको छ। कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्छ।’

पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवद्र्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथमा रहेको जनाए।

यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसाप्रति आकर्षण बढाउने उनले बताए।

यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं.२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ।

सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचीकृत व्यवसायिक कृषकहरूलाई किसान परिचय–पत्र समेत प्रदान गरिएको छ।