पोखराका २८० सुन्तला कृषकलाई २५ लाख रुपैयाँ बराबरको अनुदान

सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाई प्रतिबोट अधिकतम १ सय ५० रुपैयाँका दरले १० हजार ६ सय ५२ बोटका लागि महानगरद्वारा अनुदान वितरण

जनसम्मत
असार ३१, २०८१, सोमबार

पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ।

नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरेका हुन्।

पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटनलगायत स्थानका २ सय ८० किसानलाई अनुदान प्रदान गरिएको हो।

महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम १ सय ५० रुपैयाँका दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा १ सय किलो प्राङ्गरिक मल अनिवार्य राख्न ५० रुपैयाँ, बोडो पेस्ट गरेबापत ४० रुपैयाँ, बोडो मिक्स्चर स्प्रेबापत ३० रुपैयाँ र बोटको वरपर बाक्लो छापो लगाएबापत ३० रुपैयाँ गरी १ सय ५० रुपैयाँ प्रदान गरिएको हो।

नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको जनाए।

उनका अनुसार वडास्तरमा सुन्तलाको पकेट कार्यक्रम संचालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको स्पष्ट पारे।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत ५ वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको उल्लेख गरे।

तोकिएको मापदण्डअनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमनपछि योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिए।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१।०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ।