पोखरा–१५ मा किसान बजार संचालन

‘पोखराको हरेक वडाहरुमा किसान बजार आवश्यक

जनसम्मत
असार ३०, २०८१, आइतबार

पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ संचालनमा आएको छ।

स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले उक्त बजार संचालनमा ल्याइएको वडा अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए।

‘स्थानीय कृषकहरूको हितलाई मध्यनजर गर्दै कृषि उपजहरूको सहज बजारीकरण गर्न कृषि बजार संचालनमा ल्याइएको हो’, वडाध्यक्ष बानियाँले भने, ‘बजार संचालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले खरिद गर्न पाउनेछन्।’

वडा कार्यालय र कृषि सञ्जाल पोखराको साझेदारीमा संचालित किसान बजारको नगरप्रमुख धनराज आचार्यले उद्घाटन गरे।

नगरप्रमुख आचार्यले वडास्तरमा संचालनमा आउने यस्ता प्रकारका बजारहरूले कृषकहरूलाई उत्पादनमा र उपभोक्ताहरूलाई स्वच्छ र ताजा तरकारीहरूको उपभोगमा प्रेरणा मिल्ने बताए।

‘जमिनको तीव्र खण्डीकरणले कृषि उत्पादनको क्षेत्र घटिरहेका बेला कृषकहरूलाई उत्पादकत्व वृद्धिसँग जोड्न उत्तिकै कठिन भइरहेको यथार्थ हो’, प्रभुख आचार्यले भने, ‘तर, उनीहरूको प्रोत्साहनका लागि महानगरपालिकाले विभिन्न किसिमको अनुदानलगायतका साझेदारी

कार्यक्रमहरू सहित कृषि उपजको बजारीकरणमा समेत सहयोग गरिरहेको छ। यसले कृषकहरूलाई प्रेरणा मिल्नुका साथै उपभोक्ताहरूलाई ताजा र अर्गानिक तरकारी उपभोगमा सहयोग पुग्दछ।’

महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा पकेट कार्यक्रमहरू संचालन गरी आत्मनिर्भरता उन्मुख रहेको प्रमुख आचार्यले दाबी गरे।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले यस्ता प्रकारका बजारहरू महानगरका अधिकांश वडाहरूमा संचालन गरिएको उल्लेख गरे।

कृषि एम्बुलेन्समार्फत ढुवानी गरिएका ताजा तरकारीहरूको बजारीकरणमा यस प्रकारका बजारहरू निकै प्रभावकारी देखिएको उनले दाबी गरे।

पोखरामा–१५ मा कृषि बजार संचालनमा आएपछि स्थानीय उपभोक्ताहरूले पनि खुसी छन्।