पोखरा महानगरपालिको १५ औँ नगर सभाले आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।
नगर सभाको सोमबार बसेको बैठकले छलफलपछि नगर प्रमुख धनराज आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।
यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा नगर सभा सदस्यहरूले सक्रियतापूर्वक सहभागिता जनाए।
उनीहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन साेंच र समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार भन्ने ध्येय प्राप्तिका लागि बलियो दस्ताबेजका रूपमा आएको उल्लेख गरे।
यसको अक्षरशः कार्यान्वयनमा उनीहरूले जोड समेत दिएका छन्।
नगर सभामा सदस्यहरूले उठाएका सवालहरूको जवाफ दिँदै नगर प्रमुख आचार्यले समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि महानगरका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा एकताबद्ध प्रयत्नमा एकीकृत हुन आह्वान गरे।
पोखराको समग्र विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको आचार्यल जनाए।