पोखराको तालचोक–बेगनास सडकखण्ड विस्तारको निर्माणमा ढिलाइबारे छलफल

‘३.२८ कि.मी. लम्बाईको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्याक र डिभाइडरसहित ४ लेनको हुनेछ’

जनसम्मत
असार २७, २०८१, बिहीवार

पोखराको तालचोक–बेगनास सडक–खण्ड विस्तारको काममा भइरहेको विलम्बका विषयमा पोखरा महानगरपालिकाले शहरी विकास मन्त्रालय, विकास साझेदार विश्व बैंक, निर्माण कम्पनी र परामर्शदातासँग गंभीरता पूर्वक छलफल गरेको छ।

सो छलफलमा सहभागी निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले अव आफूले क्याच अप प्लान अर्थात् (व्यतित भइसकेको परियोजनाको समयावधिमा हुनुपर्ने कामको अनुपातमा परियोजनाको भौतिक प्रगति) अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

सडक निर्माणका ३ वटा प्याकेज बनाएर काम गर्ने तयारी लामिछाने सुनाए।

सडक निर्माण कार्यमा विलम्ब हुँदा त्यस क्षेत्रका उपभोक्ताहरूले निकै सास्ती बेहोर्नु परेकामा नगर प्रमुख धनराज आचार्यले गहिरो चिन्ता जनाए।

तत्काल फिल्डमा काम थाल्न र हरेक हप्ता महानगरलाई प्रगति विवरण पठाउन आचार्यको निर्देशन छ।

निर्माण पश्चात् ३.२८ कि.मी. लम्बाईको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्याक र डिभाइडरसहित ४ लेनको हुनेछ।
यस खण्डमा ५ वटा कल्भर्ट तथा पुलहरू निर्माण हुनेछन्।

सडकको बीचमा १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाईको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाईको फुटपाथ र सडकमा ४ सेमी मोटाईको अस्फाल्ट पिच हुनेछ।

७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ पैसामा निर्माण सम्पन्न गर्नेगरी स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले यसको निर्माणको जिम्मेवारी पाएको छ।