सरकारलाई असफल हुने छुट छैन: संचारमन्त्री गुरुङ

मन्त्री गुरुङ भन्छन्, ‘वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्नेछ’

जनसम्मत
श्रावण १२, २०८१, शनिबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरिसक्नु भएको छ।’

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको स्पष्ट पारे।

‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रूपमा प्रयोग गरेका हौँ’, उनले भने, ‘यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ।’