युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव

अध्यक्ष बस्नेतले भने, ‘देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभै समाधानका विकल्पहरु सहित प्रश्न उठाउनु पर्छ ।’

जनसम्मत
श्रावण १४, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन्।

अनलाइन मार्फत नयाँ सुरु भएका संचार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो। व्यक्तिगत रुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ। नागरिक दायित्व हुन्छ। मिडियाको रुपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नै पर्छ।’

नयाँ खुलेका अनलाइनसहित संचार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै बस्नेतले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्नेतर्फ सबै सचेत हुनुपर्ने औंल्याए।

‘देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ। हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो। यसले विकृति र वितृष्णा मात्र बढाएको छ।’

अध्यक्ष बस्नेतले भने, ‘देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ। समस्या देखाउने मात्र नभै समाधानका विकल्पहरु सहित प्रश्न उठाउनु पर्छ।’

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी उनले दिए।

‘रचनात्मक पत्रकारिता देश र जनताको पक्षमा हुन्छ। जनतामैत्री हुन्छ। विकासमुखी र समृद्धिको बाहकसमेत हुन्छ’, बस्नेतको सुझाव छ।

पत्रकारिताको फरक बाटो मोड्न सुझाउँदै बस्नेतले भने, ‘मिडियाले यो फरक बाटो रोज्नका लागि थप अध्ययन, अनुसन्धान र खोजी भने गर्नुपर्छ। त्यसो गर्न सके केही मिडियामा अहिले देखिएको गलत सूचनाको बाढी र सामाजिक सञ्जालमा भाइरल हुने रोग आफैँ कम हुँदै जान्छ।’

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखिकरण कक्षा लिँदै आएको छ।

सोमबार स्रोत व्यक्तिका रुपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न संचार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेका थिए।

अभिमुखिकरणमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले स्वच्छ र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति राखेका थिए।