न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत

‘मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्छ’

जनसम्मत
श्रावण ३२, २०८१, शुक्रबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगतको विकास हुन नसक्ने उनले औँल्याए।

अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा शुक्रबार अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन जरुरी छ। हरेक दिन जस्तो प्रविधिमा फरकपन छ। समाचारका प्रस्तुति र स्तर पुरानै शैलीका देखिन्छन्। यसमा सुधार जरुरी छ।’

उनले मुलुकको समृद्धिका लागि सिर्जनात्मक खोजी र रचनात्मक पत्रकारितालाई बढावा दिनुपर्ने सुझाव दिए।

‘न्यु मिडिया विकास र समृद्धिको बाहक बन्नुपर्छ। प्रविधिमैत्री बनी रचनात्मक र चाखलाग्दा समाचार सामग्री दिन सके मिडिया जगतले फड्को मार्न सक्छ’ उनको भनाई छ।

पछिल्लो समय काउन्सिलले रचनात्मक पत्रकारिताको बहसलाई देशव्यापी बनाउँदै लगेको उनले जानकारी दिए।

उनले मिडिया बचाउनका लागि संचार माध्यमका रणनीति र योजनामा पुनरावलोकन गर्न सुझाव दिए।

संकटमा पर्दै गएको मिडिया क्षेत्रलाई जोगाउन सरकारले प्रभावकारी कार्यक्रम तय गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष बस्नेतले भने, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले अवसर र चुनौती दुवै ल्याएको छ। मिडियामा यसको रचनात्मक प्रयोगलाई बढावा दिने हो भने अहिले समस्या घट्दै जानेछन्।’

नेपाल पत्रकार महासंका अध्यक्ष विपुल पोखरेलले अनलाइन संचार माध्यमलाई समाचार दिने होडबाजी नगरेर जिम्मेवार हुन सिक्नुपर्ने बताए।

उनले पत्रकारले गर्न हुने र नहुने पक्षबारे आफ्नो प्रस्तुति राखे।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पत्रकार आचारसंहिता र संचार निर्देशिकाहरूको अहिलेको अवस्था एवं सदुपयोगबारे अभिमुखीकरण दिएका थिए।