नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ शनिबार पेरिस ओलम्पिकमा पराजित भएका छन्।
पुरुष एकलका प्रतिस्पर्धी स्यान्टुले प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डायवसँग पराजित भएका हुन्।
स्यान्टु ४–० को सोझो सेटमा पराजित भए।
उनले पहिलो सेटमा डायवलाई कडा टक्कर दिएका थिए।
१२–१० मा पहिलो सेट सुम्पेका स्यान्टुले त्यसपछि लगातार ११–५, ११–४, ११–५ ले सेट गुमाएका थिए।
यो खेल जितेर डायव राउन्ड अफ ६४ भित्र प्रवेश गरेका छन्।
फ्रान्समै जन्मेका डायवले जुनियरस्तरमा फ्रान्सबाटै खेलेका थिए।
उनी सेनेगली पिता र मालियन आमाका सन्तान हुन्।
३१ वर्षे उनले १३ औं अफ्रिकन गेम्स २०२३ मा कांस्य पदक जितेका थिए।
अघिल्लो दिन उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा स्यान्टु र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका थिए।
स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन्।
नेपालले ओलम्पिकमा टेबलटेनिस पहिलोपल्ट खेलेको हो।
घरेलु प्रतियोगितामा चार पटकका राष्ट्रिय च्याम्पियन स्यान्टु १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता पनि हुन्।