नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी

खेलको २३ औं मिनेटमा निराजन धामीले गरेको निर्णायक गोलले नेपाल विजयी बन्यो

जनसम्मत
भाद्र २, २०८१, आइतबार

आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो।

प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे।

नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो।

जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।

नेपालले बलमा पकड जमाउँदै लगातार पोस्ट प्रहार गरेपनि नेपालको थप प्रयासमा श्रीलंकाका गोलरक्षक अहमद शरिफ बाधक बने।

च्याम्पियनसीपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता छ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका रहेको छ।

समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

अब नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

भारत यस च्याम्पियनसीपको साबिक विजेता हो।