‘पत्रकारमाथिको धम्की, निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती’

अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई लक्षित गर्दै प्रदेश मन्त्री राजीव गुरुङ (दिपक मनाङ्गे) ले पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

जनसम्मत
श्रावण १४, २०८१, सोमबार

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई लक्षित गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ कास्की शाखाका अनुसार मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए।

सोही निहुँमा मन्त्री गुरुङले पत्रकार सुवेदीलाई सार्वजनिक रुपमा कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएको शाखाले जनाएको छ।

प्रदेश सरकारको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।

मन्त्री गुरुङको यो गैरजिम्मेवार अभिव्यक्तिले कानुनी राज्यको उपहास हुनुका साथै पत्रकारको सुरक्षासमेत चुनौतीपूर्ण बनेको महासंघको ठहर छ।

यस्ता गैरजिम्मेवार र आतंकित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाई संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरणको प्रत्याभूति दिलाउन सरकारसँग महासंघले माग गरेको छ।

हेरौं, पत्रकार महासंघको विज्ञप्ति