पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ।
गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् ।
नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।
समिति अध्यक्ष योगेन्द्रमान बाटाजुका अनुसार पुरुषतर्फ रानीपौवा ताया मचा नाच समिति दोस्रो, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तेस्रो र गैह्रापाटन नेवाः समाज सान्त्वना भए।
त्यस्तै, महिलातर्फ समाज कल्याण नेवाः खल, राजाको चौतारो दोस्रो र रुपा देउराली नेवाः खल, रुपा गाउँपालिका तेस्रो भए।
पुरुषतर्फ विजेताले ३ लाख, द्वितीयले २ लाख, तृतीयले १ लाख र सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे।
महिलातर्फ प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
पुरस्कारका लागि स्व. हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका छोराहरु पोखरा–३ निवासी रामकाजी, रवीन्द्र, शंकर र कविन्द्र श्रेष्ठ परिवारले प्रायोजन गरेका थिए।