पोखराको लामाचौरमा यस वर्षपनि भलिबल प्रतियोगिता हुने

‘राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ३ विभागीय गरी दुबैतर्फ ५÷५ टिमको प्रतिस्पर्धा गर्नेछन्’

जनसम्मत
भाद्र ११, २०८१, मंगलवार

पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सवमा यस वर्षपनि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताले निरन्तरता पाउने भएको छ।

महोत्सवको मुख्य आकर्षण नै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हुने गर्दछ।

महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप भलिबल प्रतियोगिता हो।

दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले प्रतिस्पर्धा गर्नेछन्।

महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बलका एपीएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ।

दुवैतर्फका विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ।

टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ।

भलिबल प्रतियोगिता भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखिनै सुरु हुनेछ।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए।

पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए।

महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ।

भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए।