असोज ५ मा नेपाल पत्रकार महासंघको निर्वाचन

‘महासंघको केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न महासंघद्धारा निर्वाचन समितिलाई पत्राचार’

जनसम्मत
भाद्र १६, २०८१, आइतबार

नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ।

यसअघि, अन्तिम समयमा सदस्य शुद्धीकरण विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो।

महासंघ केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्।

विज्ञप्तिमा भनेका छन्, ‘महासंघ एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास, दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहान्छु। घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरु जे जस्ता भएपनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु। महासंघले यस बीचमा भोगेका सकारात्मक पक्षहरु अनुशरण गर्दै नकारात्मक पक्षबाट शिक्षा लिदैँ सच्चिनुपर्ने आवश्यकता महसुस गरेको छु।’

यसअघि, असार २२ गते निर्वाचन मिति तय भएकोमा अन्तिम समयमा स्थगित भएको थियो।

नियमित रुपमा नयाँ नेतृत्व चयन प्रक्रिया हुन नसक्दा आम पत्रकार र महासंघसँग प्रत्यक्ष, अप्रत्यक्ष सरोकार राख्नेबीच अन्यौलता छाएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘समग्र नेपाली पत्रकारिता जगत संकटे घेरामा परेको बेला समयमै महासंघको नेतृत्व चयन भई आइपर्ने सबैखालका चुनौतीको सामना गरेर समग्र नेपाली संचार क्षेत्रकै नेतृत्व लिनपर्ने आवाज आफैमा महत्वपूर्ण मात्र होइन महासंघको भरोसाको रुपमासमेत लिन सकिन्छ। केही अप्ठ्याराहरुका बीचपनि महासंघ आफ्नो उद्देश्य र मान्यतामा विश्वास दिलाउन चाहन्छ।’

महासंघका लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धिकरणले यो पटक महत्वपूर्ण उपलब्धि हासिल गरेको विज्ञप्तिमा जनाइएको छ।

अध्यक्ष पोखरेलले यो पटकको प्रयासकाट भएको शुद्धिकरणले पेशागत शुद्धता र महासंघको शुद्धिकरणका लागि महत्पूर्ण हुने विश्वास लिएको जनाएका छन्।

‘शुद्धिकरणका क्रममा भएका त्रुटीहरु क्रमशः सच्याउनुपर्ने आवश्यकतासमेत देखेको छु’, विज्ञप्तिमा अध्यक्ष पोखरेलले भनेका छन्।

 

हेरौं, नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलको विज्ञप्ति

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलको विज्ञप्ति