गण्डकी प्रदेशमा ४ नयाँ मन्त्रीले लिए शपथ

एमालेका तर्फबाट नवनियुक्त मन्त्रीहरुमा नवलपुरकी पद्मा जिसी श्रेष्ठ, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल छन्

जनसम्मत
भाद्र १७, २०८१, सोमबार

गण्डकी प्रदेशमा एमालेबाट ४ नयाँ मन्त्री बनेका छन्।

उनीहरुले सोमबार नै एक समारोहबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका छन्।

एमालेका तर्फबाट नवनियुक्त मन्त्रीहरुमा नवलपुरकी पद्मा जिसी श्रेष्ठ, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल छन्।

नवनियुक्त मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

पद्मा जिसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सामेल भएको हो।

यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ।

योसँगै काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अब सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, फणिन्द्र देवकोटाको जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी यथावत छ।